ॐ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥

राजकुमार दिक्पाल शनिवार, असोज १, २०७३    (अन्नपुर्ण पोस्ट बाट साभार गरिएको)





चितवनबाट बुद्धिलाल भण्डारीले लेखेको 'राष्ट्र निर्माणका केही योद्धाहरू' (२०५०: १००)मा प्रकाशित भएको विसं १८७३ माघ सुदि १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनका ठाउँमा बलभद्र कुँवरलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको बेहोरा उल्लेख छ । यसलाई पुष्टि गर्ने काठमाडौं भद्रकालीको गुठीलगत तथा अभिलेख शाखा कार्यालयमा महेशराज पन्तले फेला परेको बलभद्र कुँवरसम्बन्धी अर्को पत्र 'पूर्णिमा'को पूर्णांक ९९ (आश्विन २०५७:६३-६४) मा प्रकाशित गरिएको छ । विसं १८७३ माघ सुदी ६ रोज ५ मा राजा राजेन्द्रविक्रम शाहद्वारा बलभद्रलाई सम्बोधन गरिएको उक्त पत्रमा उनको बुवाले दुल्लुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुरीको गुठी स्थापना गरिएको उल्लेख छ ।
यसरी बलभद्र कुँवर नालापानीबाट सीधै लाहोर पुगी पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भएका होइनन् भन्ने तथ्यको पुष्टि संशोधन मण्डलले गरेको छ ।
लाहोरमा गई लाहुरे हुने परम्परा बलभद्र कुँवरबाट सुरु भयो । त्यस बेला कुँवर, थापा, पन्त, खत्री, भण्डारी, खवास, ठाकुरजस्ता क्षेत्रीहरू लाहोरमा भर्ती हुन थाले । गोर्खाली जिब्रोमा लाहोर शब्दको उच्चारण हुँदा 'लाहुर' भन्न थालियो । त्यसपछि लाहोर पुगेर सैनिक बन्नेहरू लाहुरे कहलाए । पछि सुरो र लडाकु जातिको रूपमा राई, लिम्बू, मगर र गुरुङ देखा परे । उनीहरूलाई पनि पछि अंग्रेजहरूले सैनिकका रूपमा लिन थालेका हुन् ।
प्रतिशोध भावनाले लाहुर
युद्धबाट फर्केपछि विसं १८७३ मा बलभद्रले जिम्मेवारी पाएकै थिए । फेरि पनि नालापानीजस्तो युद्धमा नेतृत्व गरेको व्यक्ति किन लाहुरे भए होलान् ?
यस प्रश्नको उत्तर केही हदसम्म 'नालापानीका नायक वीर बलभद्र कुँवर' (२०६९:५१-५२) पाइन्छ । त्यहाँ उल्लिखित प्रसंगअनुसार बलभद्रले आफ्ना मामाहरू अर्जुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुलुकमा जाने इच्छा जनाएका थिए । उनले मामाहरूसँग त्यस बेला आफ्ना मामाहरूसँग 'मुलुकभित्र खुकुरीको शान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुलुकमा जाने' इच्छा देखाएका थिए । उक्त पुस्तकका लेखकद्वय रामराजा र डा. धनबहादुर कुँवरको विश्लेषणअनुसार बलभद्र अन्य ठाउँबाट भए पनि लडेर अंग्रेजलाई भारतवर्षबाट लखेटेर उनीहरूले नेपालबाट लिएको भूभाग फिर्ता लिएर आफ्नो राष्ट्रको प्रतिष्ठा बढाउन चाहन्थे ।
यही चाहनाअनुसार उनी विसं १८७६ ताका फौजबाट अवकाश लिएका र नयाँ कोरा ठिटाहरू सैयौं जम्मा गरी साथीभाइलगायत एउटा ठूलो जमात लाहोर जान तयार बनाएका थिए । त्यस बेला उनले आफ्नी पत्नी र छोराहरू शरणभद्र र केशरसिंहलाई नेपालमै छाडेर गएका थिए ।
त्यस बेला नेपालमा भीमसेन थापा सर्वेसर्वा थिए । उनी अरू भारदारले भनेको कुराको खासै सुनुवाइ पनि गर्दैनथे । सुगौली सन्धिपछि अंग्रेजसँग पुनः युद्ध हुने सम्भावना पनि थिएन । नालापानीमा हार भएको पीडा पनि छदैथियो । त्यही भएर अंग्रेजसँगको प्रतिशोध भावनाले बलभद्र पञ्जावकेशरी रणजित सिंहको फौजमा भर्ना हुन लाहोर पुगेका हुन् भन्न सकिन्छ ।
जंगबहादुर-बलभद्र सम्बन्ध
जंगबहादुर राणा र बलभद्र कुँवर एउटै पुर्खाका सन्तान हुन् । पुस्तान्तर सम्बन्धको हिसाबले बलभद्र जंगबहादुरका काका-बुवा पर्छन् भने जंगबहादुर बलभद्रका छोरा-भतिज । उनीहरूका वंशावलीअनुसार अहिराम कुँवरका दुई छोरा रामकृष्ण र जयकृष्ण कुँवरमध्ये रामकृष्णका पतानी जंगबहादुर राणा हुन् भने बलभद्र कुँवरचाहिँ जयकृष्णका नाति हुन् । जयकृष्णका छोरा चन्द्रवीर र चन्द्रवीरका तीन छोरामध्ये जेठो वीरभद्र, माहिलो बलभद्र र कान्छो चेतसिंह भएको तथ्य 'पूर्णिमा'को पूर्णांक १४ (साउन-भदौ-असोज २०२४:१५२)मा पढ्न पाइन्छ ।
बलभद्रका पुर्खा पहिले कास्कीमा थिए । अहिराम कुँवरको कास्कीका राजासँग खटपट परेको अवस्थामा उनलाई नरभूपाल शाहले गोरखा बोलाएर लगेका सूर्यविक्रम ज्ञवालीले 'वीर बलभद्र' (२०१८:१)मा उल्लेख गरेका छन् ।
बलभद्रका जिजुबुवा अहिराम कुँवर नेपालको राज्य विस्तार अभियानका क्रममा खटेका सेनापतिमध्येका एक हुन् । अहिरामका छोरामध्ये लामो समय युद्धमा खटेका सरदार रामकृष्ण पूर्वमा पल्लो किरात लिम्बुवानसम्म कब्जा गर्न पुगेका थिए भने जयकृष्णचाहिँ तिमालको युद्धमा मारिएका थिए । पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई लेखेको एक पत्रमा 'तिमालमा तिम्रा भाइ मारिँदा म निक्कै दुःखी भएँ' भन्ने परेको छ । बाबुराम आचार्यले संकलन गरी 'पुरुषार्थ' (माघ, २००६:५२-५३) मा छापेको सामग्रीलाई उद्धृत गर्दै यो पत्र रेग्मी रिसर्च प्रा.लि.ले 'रेग्मी रिसर्च सेरिज'को वर्ष ४ अंक ५ (मे, सन् १९७२:९४-९५)मा प्रकाशित गरेको छ ।
'पूर्णिमा' पूर्णांक १४ (साउन, भदौ, असोज २०२४:१४३)अनुसार तिमाल विसं १८१९ असोज ३ गते मंगलबार गोरखा राज्यमा गाभिएको हो । यसअनुसार जयकृष्णको मृत्यु १८१९ मा भएको हुनुपर्छ ।
जयकृष्ण कुँवर गोरखा राज्य विस्तार अभियानको युद्धमा लड्दै काठमाडौं आइपुग्दा आफ्नी श्रीमती र एकमात्र छोरा चन्द्रवीरलाई गोरखाबाट काठमाडौं झिकाई घर किनेर बसेका थिए । चन्द्रवीरकी श्रीमती बुढाकाजी अमरसिंह थापाकी छोरी अम्बिकादेवी हुन् । उनै चन्द्रवीर र अम्बिकादेवीको कोखबाट माहिला सन्तानका रूपमा बलभद्रको जन्म विसं १८४६ माघ १७ गते काठमाडौंको प्याफल टोलमा भएको राजाराम कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित 'नालापानीका नायक वीर बलभद्र कुँवर' (२०६९:१)मा उल्लेख छ । सोही पुस्तक (पृष्ठ ५) अनुसार बलभद्रका बुवा चन्द्रवीर कुमाउ गढवाल क्षेत्रका सेनापति भएर बसेका थिए । नालापानीको युद्धमा नेतृत्व सम्हाल्दा बलभद्र २५ वर्षका थिए ।
कुँवर र राणामा विभक्त
रामकृष्णका छोरा रणजित र रणजितका छोरा बालनरसिंह कुँवरका छोरा जंगबहादुर हुन् भनी इतिहास शिरोमणि बाबुराम आचार्यले 'पूर्णिमा'को पूर्णांक २७ (आश्विन २०२९:१७८) मा उल्लेख गरेका छन् । तीमध्ये जंगबहादुर राणा खलकले नेपालमा एकछत्र रूपमा १०४ वर्ष जहानिया शासन चलायो भने बलभद्र कुँवर लाहुरमा भासिनु त पर्‌यो नै, उनका सन्तानसमेत छायामा परे ।
जंगबहादुरले चुतुर्‌याइँपूर्वक आफू र आफ्ना खलकलाई कुँवरबाट 'राणाजी' घोषणा गराए । उनको राजपरिवारसँग विवाह सम्बन्ध गाँसिनुअघि दरबारमा चौतारिया खलक जंगबहादुरसँग वैवाहिक सम्बन्ध त के पानी समेत चलाउँदैनथे । जंगबहादुर तीन डोरे जनै लगाउँथे भने चौतारिया खलक ६ डोरे जनै लगाउने र धोतीपाटा फेरेर भात खान्थे । यसबाट सामाजिक समस्यामा परेका जंगले आफ्नो कुल पुर्खाको नाम उदयपुर (भारत)का महाराणाप्रतापको वंशवृक्षमा पारे ।
यसरी आफ्नो नामथर कँबर वा कुँबर नभएर राणा भएको प्रमाणित गराएर उनी उच्च घरानाको झर्रा क्षत्री भए । अब जंग कुलको प्रशस्ती श्री मद्राजकुमारात्मज राणाजी भयो भनी 'हिमाल' खबरपत्रिका (पुस २०-२६, २०७१) मा इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेका छन् ।
जंगबहादुरले 'राणाजी'को पद्वी र रजपुतसँग विवाहको अधिकारको लालमोहर १९०५को जेठ बदी २ मा लिएका हुन् । 'पूर्णिमा'को पूर्णांक ४० (चैत २०३५:१७८) मा तत्कालीन राजा सुरेन्द्र, बुढा महाराज राजेन्द्र र युवराज त्रैलोक्यबाट राणाहरूको रोलक्रममा घोषणा गरिएको लालमोहर प्रकाशित गरिएको छ । विसं १९२४ माघ सुदी १० सोमबार जारी सो लालमोहरमा ' श्री ५ बुवाज्यू, श्री माहिला भाईको गाथ बचाई श्री ५ महारानीहरूको दर्जा इज्जत थामी गर्‌याको रीझ वापत श्री मद्राजकुमारकुमारात्मज राणाजी र रजपुतसँग विहावारी गर्नु भनी धर्मपत्र गरी १९०५ साल जेष्ठ वदी २ रोजमा लालमोहर गरिबक्स्याको हो' भन्ने स्मरण पनि गरिएको छ ।
यसरी एउटै वंशका मध्ये रामकृष्णका सन्तान 'राणाजी' कहलाए भने उनका भाइ जयकृष्णका सन्तान भने कुँवर नै रहे । एउटै पुर्खाका सन्तान पनि जंगबहादुरको शक्ति र चुतुर्‌याइँबाट दुई वर्गमा विभाजित हुन पुगे ।
युद्धको घोषणा
व्यापारी बनेर भारत आइपुगेको अंग्रेजले अधिकांश एसियाली मुलुकलाई आफ्नो उपनिवेश बनाइसकेको थियो । जाडो मुलुकमा बस्ने अंग्रेज भारतको गर्मी ठाउँमा आइपुगेका थिए । उनीहरूलाई छल्ने ठाउँ पनि चाहिएको थियो । उसको चीन तथा तिब्बतसँग व्यापार बढाउने मनसुवा छँदै थियो । त्यसका लागि उनीहरूले आँखा लगाएका हुन्, नेपाली भूमिमाथि । मौसम र भूगोलको अनुकूलताका कारण नेपालमाथि अंग्रेजको आँखा पर्‌यो ।
पूर्वमा टिष्टा र पश्चिममा काँगडा पुगिसकेको थियो नेपाली सिमाना । नेपालको यस्तो अवस्थाले पहाडी नाका हुँदै तिब्बत र चीनतर्फ बढ्ने आफ्नो पहाडी मार्ग अवरुद्ध भइरहेको महसुस अंग्रेजलाई भइरहेको थियो । त्यसै बेला उनीहरूले बुटवलको स्युराजमा सानो निहुँमा बखेडा झिके । विवाद बढ्दै गयो । अन्ततः अंग्रेजले नेपालविरुद्ध युद्धकै घोषणा गर्‌यो ।
इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्सका तर्फबाट युद्धको घोषणा गर्ने इस्ट इन्डिया कम्पनीका सचिव जे. एडमले हस्ताक्षर गरेको युद्ध घोषणामा 'नेपाल सरकारले बुटवल, स्युराज र रौतहटमा अतिक्रमण गरेको, कम्पनी सरकारलाई अनादर गरेको र आपसी सद्भावको बेवास्ता गरेका कारण युद्ध निर्विकल्प भएको' भन्दै युद्धको घोषणा गरेको इतिहास 'हिमाल' खबरपत्रिका (पुस ७, २०७०) मा पढ्न पाइन्छ ।
त्यसको ४७ वर्षअघि मात्रै पौवागढीमा गोर्खाली सेनाबाट कप्तान किनलकको नेतृत्वको फौजले धुलो चाटेको थियो । इतिहास शिरोमणि बाबुराम आचार्यले 'पूर्णिमा' पूर्णांक २७ (आश्विन २०२९:१६६)मा लेखेअनुसार विक्रम संवत् १८२४ असोज ९ गते पौवागढीमा नेपालतर्फ अगाडि बढिरहेको कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजलाई पृथ्वीनारायण शाहको सेनाले नराम्ररी पराजित गरी लखेटेको थियो । यसको बदला लिन चाहन्थ्यो अंग्रेज । त्यसैले युद्ध घमासान भयो । विशाल संख्यामा सेना र त्यसमाथि आधुनिक हातहतियार थियो अंग्रेजसँग ।
परम्परागत हतियारसहितको सानो संख्यामा रहेको नेपाली फौज आफ्नो बुताले भ्याएसम्म भिडे । अंग्रेज पक्षको निकै ठूलो क्षति गराए पनि विसं १८७२ फागुन २४ गतेको सुगौली सन्धिसम्म आइपुग्दा आफ्नो एक तिहाइ भूभाग अंग्रेजलाई सुम्पन बाध्य भयो, नेपाल ।
नालापानीको त्यो युद्ध
नालापानी किल्ला त्यही किल्ला हो, जहाँ नेपाली फौजले अंग्रेज सेनापति जिलेस्पीलाई वीरगति प्राप्त गर्न बाध्य बनाए । विसं १८७१ कात्तिक १७ गते नेपाली फौजको प्रहारबाट जिलेस्पीको ज्यान गयो ।
नालापानी किल्लामा सवा सय जति घ्याम्पामा पानी सञ्चित गरिएको थियो । अंग्रेजहरूले गोलाले हानी पानी सञ्चित गरिएका घ्याम्पा फुटाई पानी पोखाइदिए । नेपाली सेनाले भात पकाएर खानसमेत पाएनन् । उनीहरू काँचै चामल खान बाध्य भए । पानीको समेत हाहाकार भएपछि विसं १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्कन बाध्य भएको इतिहासकार महेशराज पन्तले 'पूर्णिमा' पूर्णांक ३ (कात्तिक २०२१:५९-६४)मा उल्लेख गरेका छन् ।
यसरी किल्ला छाडी उनीहरू अन्य मोर्चाहरूमा पुगेर लड्दालड्दै सुगौली सन्धि भयो । त्यसपछि बलभद्र कुँवर काठमाडौं आए, अनि खटाइएको ठाउँतिर खटिए । त्यसपछि मात्र पञ्जाबकेशरी रणजित सिंहको सेनामा भर्ना भई विभिन्न युद्धमा खटिए । यसै क्रममा पञ्जाब र अफगनिस्तानबीच पेसावरमा भएको युद्धमा लड्दालड्दै सुवेदार बमसिंह खड्का, जमदार ऐमान खवास, जमदार रूपसिंह खड्का, जमदार जिउनसिंह टुरासहित बलभद्र कुँवरले विसं १८७९ चैत ३ गते वीरगति पाएको इतिहास 'पूर्णिमा' पूर्णांक ५ (वैशाख २०२२:६८-६९)मा छापिएको छ ।
अमरसिंह थापाका लाहुरे सन्तान
नेपाल-अंग्रेजबीचको युद्धमा बहादुरी देखाउने बलभद्र कुँवरजस्तै अर्का वीर योद्धा हुन्, अमरसिंह थापा । अमरसिंह थापाले मलाउको किल्लाबाट नेपाली फौजको कमान्ड सम्हालेका थिए । अमरसिंह थापाले तत्कालीन अवस्थामा अंग्रेजसँग युद्ध जित्न नसकिने पूर्वानुमान गरी युद्ध रोक्न भीमसेन थापासमक्ष आग्रह गरेका थिए । शान्ति कायम गर्न सकिन्छ कि भनी कूटनीतिक भूमिका निर्वाह गर्दै अंग्रेज सेना कमान्डर अक्टरलोनीका छोरासँग आफ्नो छोरा रामदासको मीतसमेत लगाइदिएका थिए ।
यो प्रसंग बूढाकाजी अमरसिंहले अर्का अमरसिंह थापा (भीमसेन थापाका बाबु)लाई सतजल इलाकाको बघाटबाट १८७० मंसिर १० गते लेखेको पत्रमा उल्लेख छ । यो पत्र 'पूर्णिमा' पूर्णांक ९ (वैशाख २०२३:४८-४९) मा छापिएको छ ।
युद्ध हारिएको, सुगौली सन्धिपछि आफ्नो कुनै भूमिका नभएको अवस्थामा अमरसिंह नेपाल फर्के । उनी सीधै राजधानी काठमाडौं आएनन्, बरु दसहरा मेला भर्न भनी उनी गोसाइँकुण्डतिर गए । उनी विक्रम संवत् १८७३ साल जेठ महिनामा गोसाइँकुण्ड पुगी पूजापाठ गरेर बसेका र जनैपूर्णिमाको १० दिनअघि अर्थात् साउन १२ गते आइतबार राति पौने १२ बजे ६५ वर्षको उमेरमा उनी परलोक भएको 'पूर्णिमा' पूर्णांक ५८ (चैत्र २०४०:४६)मा छापिएको छ ।
अमरसिंह स्वदेश फर्के पनि उनका दुई छोरा अर्जुन र भूपाल तथा नाति अर्थात् अर्जुनका छोरा भने पञ्जाबकेशरीकै पल्टनमा लाहुरे बनेर बसे ।
बलभद्र कुँवरको तलब
पहिले नेपालका सेनालाई जागिरबापत खान्गीका लागि जग्गाजमिन दिने चलन थियो । तर, त्यस बेला पञ्जाबकेशरी रणजित सिंहले गोर्खालीहरू र त्यसमा पनि उपल्ला दर्जाका सैन्य अधिकृतलाई आकर्षक तलब दिएको देखिन्छ । उनीहरूको कामका आधारमा खुसी हुँदा रणजितले तलब बढाइदिएको पनि देखिन्छ ।
'पूर्णिमा'को पूर्णांक ५ (वैशाख २०२२: ६५-६९) मा नेपाली इतिहासका महत्त्वपूर्ण स्रोतका रूपमा लाहोरबाट आएका केही पत्रहरू इतिहासकार दिनेशराज पन्तले छपाएका छन् ।
तीमध्ये सबैभन्दा बढी अमरसिंह थापाका छोरा भूपालको तलब देखिएको छ । उनको तलब पहिलो दिनको १८ रुपैयाँ छ । तर, पछि जुवाको लतमा ऋण परेको अनि काममा पनि लापरबाही गरेकाले उनको तलब घटेर दैनिक ११ रुपैयाँमा झर्‌यो । जुवा खेल्ने गोर्खालीलाई 'सधैं कति जुवा खेल्छौ' भन्दै अर्जुन थापाले थप्पडले हिर्काए । त्यो देखेर खुसी भई रणजित सिंहले उनलाई कप्तान दर्जा दिएका पनि पत्रबाट बुझिन्छ । पहिले दैनिक सात रुपैयाँ तलब बुझ्दै आएका उनको तलब बढाइदिएर दैनिक १० रुपैयाँ पुर्‌याइएको थियो । यस्तै अर्जुनका छोराको तलब दैनिक सात रुपैयाँ रहेको पत्रमा खुलेको छ ।
कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ थियो । पछि पाँच रुपैयाँ थपियो र दैनिक १५ रुपैयाँ हुन पुग्यो उनको तलब । उनलाई पुरानो गोर्खाली पल्टन पनि जिम्मा दिइएको थियो ।
लाहोरबाट भीमसेन थापालाई माघ सुदि १३ रोज ६ मा सुवेदार बलमालि पन्त, सुवेदार उमेदसिंह ठाकुर, सुवेदार म्वानासिंह खत्री, सुवेदार दलसिंह भण्डारी र अन्य जमदारहरूसहितले लेखेको पत्रमा विभिन्न दर्जाका लाहुरेहरूले कति तलब खान्थे भन्ने खुल्छ । सो पत्रअनुसार सुवेदारको तलब दैनिक दुई रुपैयाँ, जमदारको मासिक २५ रुपैयाँ र सिपाहीको मासिक आठ रुपैयाँ थियो ।
त्यस बेला अमरसिंह थापाका छोरा कप्तान भूपाल थापामार्फत गोर्खाली सेना भर्ना हुने गरेका थिए । रणजित सिंहले भूपालको नाममा जारी गरेको पर्वानामा लेखिएको छ, '...वर्सात सक्यापछि उम्दा उम्दा सिपाहीहरू दस्तुर बमोजिम जस्मा केही सन्देह छैन साथ लि तँ हाम्रा हजुरमा हाजिर हो ।' यसबाट अहिलेको गल्लावालाको भूमिकामा भूपाल थिए भन्ने बुझिन्छ ।

Popular Posts

| Designed by Colorlib